काठमाडौं । जेठ ७ गते
वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिँदैछ। सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीको आग्रहका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको थियो । त्यस्तै नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोगबाट हटाएर मुलुकलाई संकटबाट मुक्त गर्न माग गरेको छ।

अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै संविधानमाथि पटक–पटक ‘कू’ गर्ने राष्ट्रपति भण्डारीलाई महाभियोग प्रस्तावबाट हटाउन माग गरेका हुन्।‘ विज्ञप्तिमा सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गरिएको छ । ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरि घात भएको र यो संविधान विरुद्धको अपराध भएको बताइएको छ । देश र जनता कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानविय र संविधानको मर्म विपरीतका गतिविधिहरु जालसाजीपूर्ण गतिविधि रहेको तरुण दलको ठहर छ।