काठमाडौं । जेठ ७ गते
छिमेकी मुलुक भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले बताउनु भएको छ । आज काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सामाखुसीमा स्थापना भएको थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी मुलुकहरू भारत र चीन लगायतका देशबाट अक्सिजन लगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताउनु भएको हो ।

उहाँले अक्सिजन र भ्याक्सिनका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । उपप्रधानमन्त्री पोखरेलले विभिन्न विदेशी राष्ट्रहरूबाट स्वास्थ्य सामग्री सहयोग आएको भन्दै स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा वितरण गर्ने बताए।काठमाडौंको सामाखुसीमा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा ८८ बेडको थेरापीसहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ।