काठमाडौं जेठ ९ गते
सत्ताधारीले ऐतिहासिक वैधता गुमाएपछि नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने एमाले नेता घनश्याम भुसालको भनाई रहेको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले नहुनेसमेत बताउनु भएको छ । सरकारले संसद भंग गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि नेता भुसालले यस्तो प्रतित्रिलया दिनु भएको हो । नेता भुसालले सत्ताधारीले जति जति त्यस्तो चर्तिकला देखाउँदै जाने र क्रान्तिले उत्तिकै वैधता पाउँदै जाने धारणा व्यक्त गर्नु भएको छ ।

 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले अराजनीतिक छक्का पञ्जाको चाल चलेको आरोप समेत लगाउनु भएको छ । कुनै व्यक्ति वा संस्थाको नाम नलिएरै भुसालले सत्तामा रहनेले राजनीतिक समस्याको समाधान अराजनीतिक छक्का पञ्जाको चाल चल्ने गरेको भन्दै त्यसले राजनीतिक समस्याको समाधान ननिस्कने बताउनु भएको छ । भुसालका अनुसार यस्तो अवस्थामा सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । मार्क्सलाई उद्धृत गर्दै भुसालले समस्या केवल व्यक्ति वा व्यक्तिहरुको नभएर त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको भएको निष्कर्षसमेत निकाल्नु भएको छ ।