काठमाडौं जेठ ९ गते
विवेकशील साझा पार्टीले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुरानै आकांक्षाको निरन्तरता भएको जनाएको छ । सर्वोच्च अदालतले यसअघिजस्तै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास पनि पार्टीले व्यक्त गरेको छ ।

पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठकको निष्कर्ष सार्वजनिक गर्दै आइतबार जारी गरेको विज्ञप्तिमा कोभिड(१९ ले मुलुक आक्रान्त भएको र औषधि, अक्सिजन, अस्पताल(शय्या नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु ‘मानवीय संवेदनाहीन क्रूरता’ भएको टिप्पणी गरिएको छ । पार्टीले अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएको छ ।मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार रहेको पार्टीले औंल्याएको छ । ‘परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनुपरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।