काठमाडौं । जेठ १० गते
कम विकसित तथा विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणको क्रममा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आग्रह गर्नु भएको छ । अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकता खोपमा दिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।अमेरिकी उपविदेश मन्त्री विन्डीले कोरोना भाइरसको महामारी विरुद्धको अभियानसँगै सामाजिक आर्थिक क्षेत्रको सुधारका लागि अमेरिकाले गर्दै आएको सहयोग थप बढाउनेमा वर्तमान प्रशासन प्रतिवद्ध रहेको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यस्तै उनले टेलिफोन संवादको क्रममा अमेरिकी सहयोगमा जारी तथा सुरु हुने क्रममा रहेका परियोजनाहरुप्रति पनि चासो व्यक्त गरेकी छन्।टेलिफोन वार्ताको क्रममा द्विपक्षीय हित तथा आपसी सहयोग–सहकार्यका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।कुराकानीको क्रममा जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका प्रयासमा मिलेर काम गर्ने प्रतिवद्धता दुवै पक्षले व्यक्त गरेका छन्।