काठमाडौं । जेठ १४ गते
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताउनु भएको छ । कार्यदलले परिवेशको आंकलन गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएको उहाँले जानकारी दिनु भएको छ । कार्यदलले दिएको प्रतिवेदनलाई थप अध्ययन गरी बोर्डले परीक्षाको विषयमा निर्णय गर्ने उहाँकोभनाई छ ।

उहाँले प्रतिवेदन हेर्दा अधिकांशको बुझाई परीक्षा भइदिए हुन्थ्यो भन्ने रहेको र कार्यदलले बुझाएको प्रतिवेदनको जिस्ट भनेको परिवेशको आकलन गरेर परीक्षा सञ्चालन गर्नुपर्ने नै रहेको बताउनु भएको छ । परीवेशलाई बोर्डले कसरी आकलन गर्ने भन्ने विषयमा आजदेखिनै बोर्डमा छलफल चलिरहेको समेत उनले जानकारी दिए । परीक्षाको विषयमा जतिसक्दो चाँडो निर्णय गर्ने उहाँले बताउनु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएकाले बोर्डले गत वैशाख २७ गते कक्षा १२ र एसईई पूर्वनिर्धारित परीक्षालाई स्थगित गर्दै परीक्षाको मोडालिटी तयार गर्न कार्यदल गठन गरेको थियो ।