काठमाडौं । जेठ १५ गते
गणतन्त्रका मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई रहेको छ । उहाँले आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी शक्तिहरुबीच राष्ट्रिय एकताको आवश्यकता औंल्याउनु भएको छ । उहाँले जनयुद्ध, जनआन्दोलनलगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहिदहरुप्रति साथै कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न अपिल गर्नु भएको छ ।

स्वदेशमै उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परेको उहाँको भनाइ छ ।उहाँले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको र प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताउनु भएको छ । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने बताउदै नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।