काठमाडौं । जेठ १५ गते
आज सबै नेपालीमा गणतन्त्र दिवसको शुभकामना दिंदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति र कार्यान्वयनको मूल दायित्व रहने प्रधानमन्त्रीका पछिल्ला असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको आरोप लगाउनु भएको छ । संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गर्न आग्रह गर्नु भएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशीता राष्ट्रपति र प्रधानमन्त्रीको गलत भूमिकाका कारण संकटमा परेको भन्दै उहाँनले उक्त आग्रह गर्नु भएको हो ।

उहाँले हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारी कदमकाविरूद्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएको बताउदै , गणतन्त्र र परिवर्तनका एजेन्डा विरोधी शक्तिलाई नेपाली जनताले छिट्टै परास्त गर्ने निश्चित रहेको नेता सिंहको दाबी छ । उहाँले अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैया अभावमा छट्पटाइ रहेकाहरूलाई मतपत्र थमाउँछु, भन्ने अविवेकी शासकको जति निन्दा गरेपनि कम हुने जिकिर गर्नु भएको छ । ।कोरोना महामारीबाट बच्न र असंवैधानिक कदमको कडा प्रतिवाद गर्न उहाँले सबैमा अपिलसमेत गर्नु भएको छ ।