काठमाडौं । जेठ १६ गते
संविधान र कानुनद्वारा प्रदत्त महिलाका अधिकारहरू पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गर्ने काममा कठिनाई भएको राष्ट्रपति बिद्यादेबी भण्डारीको भनाई छ । आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७८ को अबसरमा शुभकामना सन्देश जारी गर्दे राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानता नीतिको प्रभावकारी कार्यान्वयनबाट समग्र लैङ्गिक उत्तरदायी शासन व्यवस्थाको विकास मार्फत् महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य भई लैङ्गिक समानतायुक्त न्यायपूर्ण समाज निर्माण हुने अपेक्षा गर्नुभएको छ ।

उहाँले विश्‍वव्यापी कोभिड–१९ महामारीको घातक दोस्रो लहरको सामना गरिरहेका उल्लेख गर्दे अन्य विपत्तिको समयमा झैं यस महामारीको बेलामा पनि महिलाहरू बढी जोखिमपूर्ण अवस्थामा रहेका जनाउनु भएको छ । अग्रपङ्क्तिमा रही महामारीसँग लड्दा होस् वा संक्रमणको सामना गर्दा होस्, महिलाको सुरक्षाका लागि उनीहरूको विशेष भूमिकालाई सम्बद्ध पक्षले विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ ।