काठमाडौं । जेठ १६ गते
ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि नेकपा एमालेका नेता योगेश भट्टराईले जनाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको हो । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिनु भएको थियो ।

नेता भट्टराईले ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्ने धारणा सार्वजनिक गरेर्नु भएको छ ।