काठमाडौं । जेठ २० गते
पाकिस्तानले अमेरिकाले सेना फिर्ता गरेपछि अफगानिस्तानमा फेरिगृहयुद्ध हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । पाकिस्तानका विदेश मन्त्री शाह महसूद कुरैशीले अफगानिस्तानका सभामुख मीर रहमान रहमानीसँगको वार्ताका दौरान यस्तो चिन्ता व्यक्त गरेका हुन् । युद्धरत अफगान समूहहरुबीच सम्झौता हुनअघिदेखि नै सम्बन्ध बिग्रन थालिसकेको उनले बताएका छन् । दुई दिनपछि फेरि एकपटक अफगानिस्तानमा सरकार र तालिवानबीच वार्ता हुँदैछ । यद्यपी, यस वार्ताबाट कमैमात्र आशा रहेको कुरैशीले बताएका छन् । अमेरिकी फौज फिर्ता गएपछि अफगानिस्तानमा गृहयुद्ध निम्तनसक्ने आशंका पाकिस्तानलाई लागेको उनले बताएका छन् । कुरैशीका अनुसार अघिल्लो वर्षको सेप्टेम्बरदेखि सुरु भएको शान्ति प्रक्रियामा अहिलेसम्म खासै धेरै उपलब्धि देखिएको छैन । जे–जति प्राप्त भएको छ, त्यसका लागि पनि सामान्य मुद्दाहरुमै लामो समय बहस गर्नुपरेको छ ।

‘अफगान समूहहरुसँग देशको भविष्यका लागि व्यापक मजबुत सम्झौता गर्न सकिने एक सुनौलो मौका छ । त्यहाँको शान्ति र समृद्धीका लागि यो उपलब्धिमुलक हुनसक्छ । अफगान समूहहरुले यसको पुरै फाइदा उठाउनुपर्छ र अवसरलाई खेर जान दिन हुँदैन,’ पाकिस्तानको विदेश मन्त्रालयका तर्फबाट जारी गरिएको आधिकारीक विज्ञप्तिमा भनिएको छ । अमेरिकाको राष्ट्रपतिका रुपमा जो बाइडेनले सपथ लिएपछि तालिवान र अमेरिकाबीच विगतमा भएको सम्झौतालाई समिक्षा गरिने बताएका थिए । पूर्व सम्झौताअनुसार मेईमा अफगानिस्तानबाट अमेरिकी फौजलाई फर्काउन असमर्थ रहेको पनि उनले बताएका थिए, यद्यपी सेप्टेम्बर ११ को वर्षगाँठभन्दा पहिले नै आफ्नो फौजलाई अफगानिस्तानबाट निकाल्ने उनले बताएका छन् । अन्तर्राष्ट्रिय समुदाय र पाकिस्तानले अफगानिस्तानको सरकार र विद्रोहीलाई वार्ताको मञ्चमा आउन र सबै विवाद अन्त्य गर्न अपिल गरेपनि यसको कुनै असर नदेखिएको पनि पाकिस्तानले जनाएको छ ।