काठमाडौं । जेठ २० गते

प्रदेश २ लाई मरुभूमि बनाउने केन्द्र सरकारको निर्णय नसच्याए आवश्यक निर्णय लिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चेतावनी दिनु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई मधेशलाई मरुभूमि बनाउने बजेट वक्तव्य सच्याउन आग्रह गर्नु भएको छ । उहाँले बजेट वक्तव्य नसच्याए आवश्यक कदम चाल्ने उनको भनाइ छ। प्रदेश सरकारले संघ सरकारविरुद्ध झण्डै आधा दर्जन मुद्दा दिइसकेको छ।केन्द्र सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा खानीजन्य ढुँगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने उल्लेख गर्नु भएको छ ।

उक्त व्यवस्थाप्रति प्रदेश २ सरकारको गम्भीर ध्यानकर्षण भएको मुख्यमन्त्री राउतले जनाउनु भएको छ । उहाँले देशको सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे क्षेत्रको उत्खनन् गरे देशको अन्न भण्डारको रुपमा रहेको प्रदेश २ मरुभूमिको रुपमा परिणत हुने बताउनु भएको छ । उहाँले चुरे क्षेत्र यस प्रदेश २ को रक्षा कवचको रुपमा रहेको र चुरे क्षेत्रको माटो कमजोर रहेकोले उत्खनन् पश्चात नदीको बहाव तीव्र हुने र तीव्र बहावले बगाएर ल्याउने बालुवा मधेशमा थुप्रिदै जाने बताउनु भएको छ । प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदा गुमाउने निश्चित रहेको मुख्यमन्त्री राउतले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । ।