काठमाडौं । जेठ २३
कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु गलत भएको नेपाली कांग्रेसका नेता शेखर कोइरालाको भनाई छ । प्रधानमन्त्री ओली एकपछि अर्को असंवैधानिक काममा अग्रसर भइरहेको कोइरालाको भनाइ छ।गत शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। उक्त कामको पनि कोइरालाले आलोचना गर्नु भएको छ । कामचलाउ सरकार पुनः विस्तारित हुनु संविधानको बर्खिलाप भएको कोइरालाको भनाइ छ। प्रधानमन्त्री ओलीले गलत अभ्यास र नजिर खडा गरेको पनि उहाँले बताउनु भयो ।

उहाँले निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु नै गलत भएको बताउनु भएको छ । निर्वाचन घोषणा भइसकेको अवस्था, संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो बेला आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि प्रष्ट नभएको कोइरालाको आशंका व्यक्त गर्नु भएको छ । संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने बताउँदै कोइरालाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको मेलमिलापको अर्थ संसद् पुनःस्थापना नै भएको बताउनु भएको छ ।