काठमाडौं । जेठ २६ गते
मंगलबार मध्यरातति भारतको उत्तर प्रदेशस्थित कानपुरमा एसी बस र टेम्पो ठोक्किदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । कानपुरको किसान नगरको हाइवेमा एसी बस र टेम्पो ठोक्किएका हुन् । जय अम्बे ट्राभल्सको कानपुरबाट गुजरातको सुरत जाँदै गरेको स्लिपर बस र टेम्पो ठोक्किँदा कम्तीमा ३० जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।दुर्घटनाका समयमा ती गम्भीर घाइतेहरुलाई अस्पतालमा पुर्याउन एम्बुलेन्स कम भएकोले निकै कठिनाई भएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।उक्त क्रममा उद्धार टिम र पुलिसले लोडरमार्फत कयौं घाइतोलई अस्पताल पुर्याएको थियो । हाइवेमा डीसीएमका चालकले बसलाई ओभरटेक गरिरहँदा टेम्पो दुवैको बीचमा फसेको थियो । मृतक सबै टेम्पोमा सवार रहेका थिए ।

त्यसमा करीव १८–१९ जना थिए । उनीहरु सबै बिस्कुट कारखानामा काम गर्दथे । नाइट सिफ्टका लागि काम गर्न जाने क्रममा यो दुर्घटना भएको थियो ।बसमा भने करीव ११५ जना सवार रहेका थिए ।दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।