काठमाडौ । जेठ ३० गते
हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिने क्रम जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि गत बैशाख १६ गते देखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाका कारण रोजगारी गुमाई साझ , बिहान हात ,मुख जोर्न पनि कठिन भएको छ । यसैलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका लगायत देशभर बिभिन्न संघ–संस्थाहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छन् ।

 

हाल यसै कार्यमा समावादी युवा संघ सक्रिय भएर लागेको छ । समावादी युवा संघ कोभिड रेस्पोन्स टिमले उपत्यकामा भोका रहेकालाई विगत १५ दिनदेखि निशुल्क खाना खुवाउँदै आएको छ । समाजवादी युवा संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष  तथा कोभिड रेस्पोन्स टिमका संयोजक निरोज प्रधानले भोकको कारण कसैले ज्यान गुमाउन नपरोस्, कोहि पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यले ‘भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण’ अभियान सञ्चालन गरेको बताउनु भएको छ ।

कोभिड रेस्पोन्स टिमले भोको पेटलाई दैनिक ५ सयदेखि ८ सय जना सम्मलाई खाना खुवाउँदै आइरहेको उहाँले जानकारी दिनु भएको छ । उहाँले यो अभियान निषेधाज्ञा अवधिभर निरन्तर जारी राख्ने जनाउनु भएको छ । अबको योजना अनाथलय र वृद्धाआश्रममा राहत वितरण गर्ने योजना गरेको वरिष्ठ उपाध्यक्ष तथा कोभिड रेस्पोन्स टिमका संयोजक  प्रधानको भनाई छ ।

उक्त टिमले काठमाण्डुको जोरपाटी चोक, बेशीगाँउ, जम्बुडाँडा, गुहेश्वरी, बालाजु विष्णुमति पुल, वीर हस्पिटल, भ्रदकाली मन्दिर, तिलगंगा, नयाँ वस्ती, गौरीघाट, मैपी हुँदै भक्तपुरको सानोठिमी र ललितपुरको महालक्ष्मीथानमा खाना वितरण गर्दै आइरहेको वरिष्ठ उपाध्यक्ष तथा कोभिड रेस्पोन्स टिमका संयोजक प्रधानले उल्लेख गर्नु भएको छ ।