काठमाडौं । असार २ गते
केही दिन देखि लगातार परेको बर्षाका कारण राप्ती नदीमा बाढी आउँदा ४ जना फसेका छन् । दाङ लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबिच टापुमा राजपुर गाउँपालिकाका ३ जना र लमही नगरपालिकाका १ जना फसेका हुन ।लमही नगरपालिका वडा नम्बर ७ का ४८ वर्षका मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ का ४५ वर्षिय सावित्रा यादव, सोहि ठाउँका २६ वर्षका राधे यादव र राजपुर९३ का २६ वर्षका गणेश यादव नदिको टापुमा भैसी चराउँदै गरेको अवस्थामा नदिमा पानीको बहाव बढेपछि नदिको बिचैमा फसेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

त्यस्तै लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ ।बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको छ।

त्यसैगरि सिन्धुपाल्चोकको मेलम्ची र मनाङमा बाढी र पहिरोमा फसेकालाई उद्धारका लागि गृह मन्त्रालयले अविलम्भ प्रयास थाल्न निर्देशन दिएको छ। उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकोप्टरबाट गइसकेको गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले बताए।जिल्लाको सूचनाको आधारमा घरको छतमा र डिस्कोमा मानिसहरु फसेको पाइएपछि सेनाको हेलिकोप्टरबाट उद्धार थालिएको उनले बताए। मनाङमा पनि हेलिकोप्टर पठाउने तयारी हुँदै गरेको तर सिन्धुपाल्चोकका लागि भने उद्धारका लागि हिँडिसकेको उनले केन्द्रबिन्दुलाई जानकारी दिए।