काठमाडौं । असार २ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ । बाढीका कारण घरबारविहीन भएकाहरुको उद्धार तथा राहतको व्यवस्था गर्न र बेपत्ताहरुको खोजी गर्न उनले सरकारसँग माग गर्नु भएको हो । त्यसतै नेपाली कांग्रेसले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेको छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेसले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालेआज जारी गरेको विज्ञप्तिमा ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारलाई आग्रह गगरिएको छ । स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको देउवाले जानकारी दिनु भएको छ । ‘पार्टीका कार्यकर्तालाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गरिएको विज्ञप्तिमाउल्लेख गरिएको छ । देशभरका सबैलाई सजग भएर बाढी पहिरोको विपत्ती सामना गर्न आग्रह गर्दै देउवाले तीन वटै तहका सरकारलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न अपील समेत गरेका छन् ।