काठमाडौं । असार ७ गते
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी पीडितको आवास पुनर्निर्माणमा स्वयंसेवक खटाउने नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टको बागमती प्रदेश कमिटीले जानकारी दिएको छ । आज जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपालले विज्ञप्ति जारी गर्दै बाढी पहिरो पीडितको निजी आवास पुनर्निर्माणमा जनशक्ति खटाउने जानकारी दिनु भएको हो स्वयंसेवी रुपमा दक्ष जनशक्ति खटाउन आफुहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले उद्दार र राहत वितरणमा पनि स्वयंसेवक खटाइने उल्लेख गर्नु भएको छ ।

हेलम्बुसहितका क्षेत्रमा राहत पुग्नै नसकेको भन्दै उहाँले सहज स्थानमा राहत वितरणमा भइरहेको होडबाजी रोक्न माग गर्नु भएको छ । एकद्वार नीतिबाट सबै पीडितको घर घरमा राहत पुर्याउनुपर्ने बताउँदै अध्यक्ष नेपालले त्यसका लागि आवश्यक जनशक्ति खटाउन आफुहरु तयारी अवस्थामा रहेको उहाँको भनाई छ । मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी श्रमिकहरु, माछापालन तथा कृषी फर्ममा कार्यरत श्रमीकहरु र अन्य स्थानीय क्षेत्रमा कार्यरत श्रमिकको जीवन रक्षाका लागि आवश्यक ध्यान दिन पनि जिफन्ट बागमतीले सरकारसँग माग गरेको छ।