काठमाडौं । असार ८ गते
देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भनाई छ । आज माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो उहाँले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफु लडिरहने बताउनु भएको छ ।

देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उहाँले अहिले राजनितिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनितिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशिल रहेको उल्लेख गर्नु भएको छ । अध्यक्ष प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडि बढाउने बताउनु भएको छ । आफूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताउनु भएको छ । तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउदै उहाँले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गर्नु भएको छ ।