काठमाडौं । असार १६ गते
कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनु भएको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मंगलवार पोखरामा भएको भेटमा उहाँले गण्डकी प्रदेश सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत कार्यक्रमले निरन्तरता पाउने बताउनु भएको हो । नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पहलमा सम्बन्ध स्थापित भएको स्मरण गर्नु भएको थियो ।

 

राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै आगामी दिनमा अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे । दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको उनले बताए । अहिले सातै प्रदेशबाट ५०० को हाराहारीमा युवा किसान तालिमका लागि इजरायलमा छन् ।