काठमाडौं असार २६ गते
एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गरिएको हो भन्दै प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसका नेता गगन थापाले प्रश्न गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएपछि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न नमिल्ने कानुनको स्मरण प्रधानमन्त्री ओलीलाई गराउनु भएको हो ।

उहाँले उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वाथ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रचलन रहेको र यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गरिएको स्मरण गर्दै थापाले प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएको बताउनु भएको छ । कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा आफूले नै प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैनू भन्ने संशोधन प्रस्ताव राखेको र यो संशोधन संसदले स्वीकार्दै बनेको कानून २०७५ असोज २ गतेदेखि लागूभएको उहाँले उल्लेख गर्नु भएको छ ।