काठमाडौं असार २६ गते
नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको दाबी रिएको छ । सहमति भएको विषयमा भाषा मिलाएर शनिबारको बैठकबाट सार्वजनिक गरिने एमाले नेताहरूको दाबी छ । आज बस्‍ने कार्यदलको बैठकमा सहमतिको खाका बनाएर आजै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । कार्यदलका सदस्यद्वय प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको दाबी गरे ।नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दै छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गरेको छ ।

कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने पनि जनाएको छ ।पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ ।वरिष्ठ नेता माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय भने टुंगिन बाँकी छ ।त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्त रुप पाउने कार्यदलका सदस्यहरुले जनाएका छन् ।हिजोको बैठकमा पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो ।