×

TUNGOON

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी


काठमाडौं ।भदौ १४ गते
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदै छ । श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिँदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गर्नु भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै सावधानीका साथ पर्व मनाउन राष्ट्रपतिले आग्रह गर्नु भएको छ । उहाँले यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा लिएको राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ । राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

 

त्यस्तै श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गर्नु भएको छ । उहाँले श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचारका लागि शुभकामना व्यक्त गर्नु भएको छ । श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने प्रधानमन्त्री देउवाले कामना गर्नु भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला