काठमाडौं । भदौ १६ गते
आज नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा मन्त्री भुसालले नेपाल–जर्मनीबीच रहिआएको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै सामाजिक एवं आर्थिक क्षेत्रमा जर्मन सरकारले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भएको छ ।
मन्त्री भुसालले जर्मनीबाट प्राप्त आर्थिक एवं प्राविधिक सहयोगलाई सही तवरले उपयोग गरिने विश्वास दिलाउँदै नेपालले राखेका लक्ष्य प्राप्तिका लागि जर्मनीबाट सहयोग रहने अपेक्षा रहेको बताउनु भएको छ । उहाँले भूकम्पपछिको पुनःनिर्माण एवं कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जर्मनीले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नु भएको छ ।
त्यस्तै राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताउनु भएको छ । उहाँले नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउनु भएको छ । उहाँले वैकल्पिक ऊर्जा एवं प्रसारण लाइन निर्माणमा जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्दै जाने विश्वास व्यक्त व्यक्त गर्नु भएको छ ।