काठमाडौं । कार्तिक २८ गते
आज सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राख्न लागेको हो। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन्।
यसअघि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा आज दिउँसो १ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने उल्लेख थियो। केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय निर्वाचन समितिले परिमार्जन गरेको महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने, महाधिवेशनका लागि आवश्यक समितिहरु गठन, महाधिवेशन प्रयोजनका लागि विधानका विभिन्न धारा–उपधारा निलम्बन गर्ने बताइएको छ।