×

TUNGOON

स्थानीयले कल्पनै नगरेको बगरमा बगैँचा बनेपछि


काठमाडौं । चैत १३ गते

महोत्तरी गौशाला नगरपालिका–८ को सोनी खोल्सीमा केही वर्षअघि मात्र स्थानीयहरू आवतजावत गर्न निकै डराउँथे । वडा नम्बर ८ स्थित कुस्मारी टोल र झोर्लेनी टोलका बासिन्दाहरूको दाहसंस्कार गर्ने ठाउँ सोनी खोला थियो । जस कारण सो बाटो भएर स्थानीयहरू आवतजावत गर्न डराउँथे । बालुवा नै बालुवाको बगर रहेको मसानघाट अहिले बगैँँचा बनेको छ । स्थानीयले कल्पनै नगरेको बगरमा बगैँचा बनेपछि उनीहरू हर्षित छन् ।कुस्मारी किसान समूहका गर्बु साह मसानघाट अहिले भूमिहीनहरूको सहारा बन्दा निकै खुसी भएको बताउँछन् । यो मसानघाटमा हराभरा खेती गरेर आम्दानी लिन सकिन्छ भन्ने सपनामा पनि नसोचेको उनी बताउँछन् ।

एक दिन सामुदायिक विकाश तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादव र नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी घुम्दै सोनी खोला पुगे । बालुवा नै बालुवा भरिएको विशाल बगर देखेपछी बगरवाट नै समृद्धिको यात्रा तय गर्न सकिने उनीहरूले बनाएको योजनाअनुसार अहिले ९० बिघा क्षेत्रफल भूमिहीन, विपन्न र आर्थिक स्थिति कमजोर भएकाहरूको सहारा बन्न पुगेको हो । ‘बालुवामा हिजोआज सुन फल्दै छ । बगरमा बगैँचा र बगैंचामा कृषि भन्ने मूल नाराका साथ नगरपालिकाले नगरभरि बालुवाले थुप्रिएको बगरको पहिचान गरिरहेको छ ।

अहिले सोनी खोलामा मात्र पाँच हजार फलफूलका बिरुवा रोपिएको छ भने १५० घरधुरीको लागि तरकारी खेती गरेर आयाअर्जनको उपयुक्त माध्यम बनेको छ ।नगरबाट करिब ६० लाख र सामुदायिक विकाश तथा पैरवी मञ्चको पहलमा युएनडीपीले ३५ लाख रुपैयाँ लगानी गरेर बगर हराभरा बनाइएको छ ।प्रत्येक किसानहरूलाई कृषि यान्त्रीकरणको व्यवस्था गरिएको छ भने युएनडीपीले जोतखनको लागि १६ लाख रुपैयाँ खर्चेर ट्याक्टर सहयोग गरेको छ। अहिले कुस्मारी र झोर्लेका किसानहरूले दाहसंस्कार गर्ने ठाउँ थियो भन्ने विस्तारै बिर्संदै गएका छन् । सोनी बगरमा किसानहरूले परवल, आलु, काउली, बन्दागोबी, फर्सी, टमाटार लगाएका छन् । प्रत्येक किसानहरूलाई पाँच कठ्ठादेखि ७ कठ्ठासम्म जमिन प्रदान गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला